काठमाडौं। काठमाडौंमा आवास तथा बस्तीसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ। सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्मेलनको सहयोग र एसिया सेल्टर फोरम आयोजक समिति सदस्यहरूको प्राविधिक तथा आर्थिक सहयोगमा तेस्रो ‘एसिया सेल्टर फोरम’ सम्मेलन–२०२१ शुरु भएको हो।।
सम्मेलनले जोखिम वर्गमा रहेका घरधुरीका लागि सुरक्षित तथा मर्यादित आवास निर्माणमा उचित समाधानका उपाय पहिचान गरी जानकारी गराउने अवसर दिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताए । यस क्षेत्रीय मञ्चले राम्रा अभ्यासको दिगोपना तथा तिनलाई संस्थागत गरिने कुरा सुनिश्चित गर्न सरकार, गैरसरकारी संस्था तथा समुदायमा आधारित संस्थाहरूबीच निरन्तर संवाद गर्न प्रोत्साहित गर्ने उनको भनाइ छ।
सम्मेलनमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौती एवं नेपालले कार्यान्वयन गरेका कार्यहरू प्राविधिक सत्रमा छलफल गर्ने कार्यक्रम छ । सबै सत्रमा विगतमा सिकिएका पाठको अभिलेखीकरण गर्नुुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका सिकाइलाई सुदृढीकरण गर्नका लागि भावी रणनीतिबारे छलफल गरिने आवास पुनर्निर्माण तथा पुनस्र्थापना मञ्च, नेपालका संयोजक मिनार थापामगरले जानकारी दिए ।