काठमाडौं। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन हाल सरकारले काम गरिरहेको बताएकी छन्।
बिहीवारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीको उद्धघाटन गर्दै मन्त्री झाँक्रीले योजनावद्ध विकास गरी अति विपन्न, दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने जनाएकी छिन्। त्यसैगरी विभिन्न जिल्लामा एकीकृत बस्ती विकास कार्यक्रमहरू अगाडी बढाइएको पनि उनले जानकरी दिएकी छिन्। नेपाल सरकारको १५औं योजनामा प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाएको उनले जानकारी दिएकी हुन्।
राष्ट्रिय योजना आयोगले तयार गरेको १५औं योजनामा नेपालको दिगो विकासको लक्ष्यहरू र नेपालको अन्तर्राष्ट्रिय फोरममा नेपालले गरेका प्रतिवद्धताहरू पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्ने सरकारको योजना रहेको उनको भनाइ रहेको छ। त्यसैगरी चालु आर्थिक वर्षका कार्यक्रमहरूमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु रहेको उनले दाबी गरेकी छिन्।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा अब प्राकृतिक प्रकोप र मानव सृजित समस्याले मानव बस्तीहरू जोखिममा पर्ने सम्भावना कम हुँदै गएको जानकारी दिएका छन्। त्यसैगरी भूकम्प पछिको पुनःनिर्माणमा निजी घरहरूको पुनःनिर्माण लगभग सकिएको उनले जानकारी दिएकी छन्।
उक्त गोष्ठीमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौती एवं नेपालले कार्यान्वयन गरेका कार्यहरूको बारेमा साथै दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिने जनाइएको छ। सो सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अव्यवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने लक्ष्य राखिएको छ।