रुपन्देही। सेनामैना नगरपालिका–११ सालझन्डीमा निर्माण गरिएको नुमना बस्ती नमुनामा मात्र सिमित हुने चिन्ता बढेको छ। तराई–मधेस समृद्धि कार्यक्रमणअन्तर्गत निर्माण भएको नमुनाबस्ती लामो समयसम्म नगरपालिकाले कार्यविधि बनाएर लागू गर्न ढिलाइ गर्दा बस्ती अहिले नमुनामा मात्र सिमित हुने चिन्ता बढेको हो।
सालझन्डीको कञ्चन नदी किनारमा १० वटा नमुना बस्ती घर निर्माण भएका छन्। तीन कोठा र एउटा शैचालयसहितको घर बस्नका लागि तयार छन्। घर वरपर हरियो बगैँचा छ। सैनामैना नगरपालिकाका अनुसार नगरपालिकामा चक्रपथ निर्माणको काम शुरु भएपछि चक्रपथबाट विस्थापित राख्ने उद्देश्यले घर बनाइएको हो। चक्रपथको ट्र्याक खोल्ने काम सम्पन्न भयो तर अहिलेसम्म कोही परिवार पनि विस्थापित हुन नपरेपछि यी घर खाली छन्।
नगरपालिकाले कार्यविधि बनाउन ढिलाइ गर्दा बस्ती खाली मात्र होइन, सुनसान जस्तै बनेको छ। बस्ती बसाल्न ढिलाइ गर्दा बस्ती संरक्षणमा समस्या पर्ने देखिएको छ।