काठमाडौं। देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गरिएको छ। बुधबार सरकार र साझेदारले विद्युतीय चार्जिङ स्टेसनहरुको औपचारिक रुपमा संयुक्त उद्घाटन गरेका हुन्।
उद्घाटन गरिएका ५१ वटा चार्जिङ स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन गरी सञ्चालनमा आइसकेका छन्।
उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक तयारी भइरहेको जानकारी दिए।
उनले निजी क्षेत्रको सहभागिताका लागि नीति नै संशोधनको तयारी भइरहेको बताए।
उनले भने,‘देशैभरि कुनैपनि ठाउँमा अभाव नहुने गरी बनाउने हिसावले निजी क्षेत्रलाई ल्याउन नीति शंसोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाई एकदमै सहज रुपमा आउनको लागि नीति संशोधन गर्दै छ। प्राइभेट सेक्टर यहाँ आउनुपर्छ। निजी क्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ।’
घिसिङले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरेपनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिए। उनले भने,‘हामीले दिनुपर्ने ट्रान्सफर्मरदेखि सप्लाइको साइटमा हामीले योगदान गरिरहेका छौँ। निजी क्षेत्रले जमिनको व्यवस्था गरेर चार्जिङ स्टेसन राखे भने अरु कुराहरुमा विद्युत प्राधिकरणले सामग्री उपलब्ध गराउँछ। त्यो ठूलो कस्ट हो।’