काठमाडौं। सरकारले उदयपुर सिमेन्ट उद्योगका लागि महाप्रबन्धक माग गरेको छ। उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो।
उक्त पदका लागि योग्य नेपाली नागिरकले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबार, काठमाडौँमा आवेदन दिन सक्नेछन्।
दरखास्त दिन योग्यता तथा अनुभवको हकमा सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने तोकिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको‚ दरखास्त दिने अन्तिम मितिसम्म उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ।
२०७७ पुस २० मा सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपानेलाई २ वर्षका लागि नियुक्त गरेको थियो। गत असोज ७ मा उनको पदावधि एक वर्ष थप गरेको थियो। थपिएको पदावधि पनि सकिन लागेपछि नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।