काभ्रेपलाञ्चोक। पहिरोको कारण र समय पत्ता लगाउन काभ्रेपलाञ्चोकमा अध्ययन गर्न सुरु गरिएको छ। काभ्रेपलाञ्चोकमा पहिरोको उच्च जोखिम रहेको जनाउँदै तेमाल गाउँपालिकाको दुई स्थानमा अध्ययन सुरु गरिएको हो।
अध्ययन टोलीमा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता छन् । अध्ययनका लागि पहिरोको उच्च जोखिम रहेको तेमालको वडा नं ४ स्थित आखेलादुर्सा र वडा नं ५ को थालागाङमा अत्याधुनिक उपकरण राखिएको छ।
तेमालमा वर्षा, कम्पन र चिस्यानको औषत् मापनद्वारा पहिरोको कारणबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानले पहिरो जानुपूर्व नै स्थानान्तरण तयारी गर्न तथा नीति–कार्यक्रम बनाउनको लागि मद्दत पुग्ने विश्वास गरिएको छ।
गाउँपालिकामा सजग नेपाल नामक एक सोधमूलक परियोजनाको संयोजकत्वमा प्राविधिक र सामाजिक–सांस्कृतिक अध्ययन गर्न थालेको हो । उक्त परियोजनामा सोशल साइन्स, तथा बेलायत, क्यानडा, न्यूजिल्यान्डका विभिन्न विश्वविद्यालयलगायत एनएसइटीका प्रतिनिधिमूलक संस्था प्रतिनिधिको संग्लग्नता रहेको छ । परियोजनाको नेपाल सरकारको सरोकारवाला निकाय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद् व्यवस्थापन शाखा, भूकम्प प्रविधि राष्ट्रिय समाजले अवलोकन निरीक्षण गरिरहेको छ ।