काठमाडौं। काठमाडौं उपत्यकामा आगामी असोज ३ देखि द्रुत बस सेवा सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालन गर्ने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतका निकायसँग बैठक बसेर संविधान दिवसको दिनदेखि बस सेवा सुरु गर्न निर्देशन दिएका हुन् । पहिलो चरणमा सूर्यविनायक–रत्नपार्कसम्म सञ्चालन हुने भएको छ ।
सुरुमा २५ वटा बसमार्फत सेवा सञ्चालन गर्ने जनाइएको छ । उक्त बसहरू ३८ सिट क्षमताका हुनेछन् भने बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । मन्त्री ज्वालाले त्यसका लागि सम्बन्धित निकायलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।