मकवानपुर। हेटौँडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द भएको छ। उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिएपछि सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको हो।
तीन चार दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताएका छन्।
उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ताअघि मात्रै पुनः सिमेन्ट उत्पादन सुरु गरिएको थियो। उपकरण बिग्रिएपछि फेरि उत्पादन बन्द भएको छ।