ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना गरिएको छ। स्थानीय किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले अनुसन्धान केन्द्र स्थापना गरेको हो।
रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगले खेतीयोग्य जमिन तथा माटोको उर्वर शक्तिमा ह्रास आइरहेको अवस्थासमेतलाई दृष्टिगत गरी अनुसन्धान केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ।
परम्परागत कृषि प्रणालीबाट आधुनिकतातर्फ उन्मुख गराई जीविकोपार्जनमा सहयोग पुर्याउने मुख्य उद्देश्य राखेर एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रको अवधारणा ल्याइएको हो।
अनुसन्धान केन्द्र स्थापनाले माटोको उर्वरा शक्ति कायम राख्नका साथै अर्गानिक र स्वस्थकर कृषि उपज उत्पादकत्व बढाउनमा टेवा पुग्ने विश्वास गाउँपालिकाले राखेको छ। आधुनिक कृषि प्रणाली अन्तर्गत जैविक तथा प्राङ्गारिक मलको प्रयोग गरी उत्पादनमा वृद्धिका साथै आधुनिक कृषि प्रणालीको विकास गर्ने लक्ष्य राखिएको पनि गाउँपालिकाले जनाएको छ।