कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच छलफल भएको छ। बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा बिहीबार छलफल भएको हो।
छलफलमा मुख्यमन्त्री पाण्डेले गत साउन २८ गतेको बाढीका कारण कागबेनीमा भएको क्षतिका कारण स्थानीयले अहिले पनि सास्ती भोग्नुपरेको, व्यक्तिगत, सामुदायिक सरकारी संरचना ध्वस्त भएको बताउँदै सहयोगका लागि युएनडीपीको ध्यानाकर्षण गराए ।
प्रदेश सरकारको सीमित स्रोत र साधनकाबीच पुनःनिर्माणका सबै काम तत्काल पूरा गर्न सहज नभएको भन्दै उनले दातृ निकायले सरकारको योजनाअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम अनुसारका योजनालाई प्राथमिकता दिन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशभित्रको बसाइँसराइ रोक्न उत्पादनमुखी कार्यक्रममा सहयोग गर्न आग्रह गरे । साना तथा मझौला उद्योगको स्थापना गरी रोजगारीको अवसर सिर्जना गर्दै युवालाई स्वरोजगार बनाउने कार्यक्रममा जोड दिन उनले युएनडिपीलाई आग्रह पनि गरेका थिए ।
गण्डकी प्रदेशभित्र सञ्चालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने लाबेले बताए । प्रदेश सरकारको प्राथमिकतालाई ध्यान दिएर सहयोग गरिने बताउँदै उनले कागबेनीको पुनःनिर्माण र पुनःस्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको अभिव्यक्ति दिएका छन्। फोहरमैला व्यवस्थापन, जलवायु परिर्वतनसम्बन्धी कार्यक्रम अगाडि बढाउन चाहेको बताउँदै उनले कालीगण्डकी करिडोरमा जीवनयापन तथा आय आर्जनसम्बन्धी कार्यक्रम सुरुवात गर्ने, हिमतालसम्बन्धी अध्ययन अनुसन्धानका काम बढिरहेको जानकारी दिए ।