काठमाडौं। कीर्तिपुर मैदानको फ्लड लाइटका लागि दोस्रो पटक खुलाएको टेन्डरको अवधि सकिन लाग्दा पनि कुनै आवेदन परेको छैन। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट र आधुनिक डिजिटल स्कोर बोर्ड जडानका लागि राष्ट्रिय खेलकुद परिषद्ले दोस्रोपटक टेन्डर आह्वान गर्दासमेत कुनै पनि कम्पनीको दाबी नपरेको हो।
गत चैतमा त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ मा युएईविरुद्धको खेल हेर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
उनले मैदानमा देखिएको समस्याको सम्बोधन गर्दै सम्बन्धित निकायलाई आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न राखेप र खेलकुद मन्त्रालयलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर आह्वान गरेको थियो। पहिलो पटकको टेन्डरमा आह्वान नपरेपछि दोस्रोपटक खुलाइएको टेन्डर भर्ने मिति पनि सकिन लागेको छ । तर यतिबेला सम्म कुनै पनि कम्पनीले दाबी गरेको छैन।