कञ्चनपुर। जिल्लामा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोक्न गस्ती बढाइएको छ। शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन्।
सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको बताइएको छ।
बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि पालो मिलाएर खटिएको सामुदायिक वनले जनाएको छ।
वनहरा, अनौखी, गौडी खोलालगायतका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइए पनि संलग्नहरू फेला नपरेकाले खोजीकार्य भइरहेको बताइएको छ।