काठमाडौं। रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आवासविहीन बनेका घरपरिवारले जनता आवास कार्यक्रमको घर पाउँदा खुसी भएका छन्। सरकारले गरिब, सीमान्तकृत, दलित, लोपोन्मुख र विपन्न मुस्लिम समुदायका लागि घर बनाइदिने कार्यक्रम अनुरुप आवासको व्यवस्था गरिदिँदा खुसी भएका हुन्।
११ वडा रहेको गाउँपालिकामा १९ घरपरिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत घर नभएका परिवारका लागि घर निर्माण गरिएको हो। सरकारी मापदण्ड र कार्यविधि अनुरुप निर्माण गरिएपछि आवासविहीन बनेका परिवारमा खुसी छाएको छ।
गाउँपालिकाले जनता आवास कार्यक्रममार्फत प्रदेश सरकारबाट आएको बजेटले घर नभएका परिवारका लागि घर निर्माण गरिदिएको जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनका अनुसारगाउँपालिकाका ११ वडामा कार्यक्रमको उद्देश्यअनुसार घर नभएका परिवारको पहिचान गरी १९ घर परिवारलाई प्रतिघर तीन लाख ५० हजार रुपैयाँका दरले घर बनाइदिएको हो।
सरकारले थालेको जनता आवास कार्यक्रमले हाल घरबारविहीन परिवारलाई सुखले आफ्नै घरमा बस्ने वातावरण बनेको छ। सोही अनुरुप रुकुम पश्चिमका ६ वटै पालिकामा पनि जनता आवास कार्यक्रममार्फत घर नभएका परिवारका लागि स्थानीय सरकारमार्फत घर निर्माण गरिएको छ।