काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासका लागि जलविद्युत् विकास महत्त्वपूर्ण आधार भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री दाहालले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केन र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक सामन्था पावरले आयोजना गरेको ‘डेमोक्रेसी डेलिभर्स’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
आर्थिक विकासका लागि जलविद्युत् विकास महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रचण्डले यसको प्रतिफलले दक्षिण एसियाली क्षेत्रमा नै स्वच्छ ऊर्जाको विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
सम्मेलनमा जलवायु परिवर्तनको असरबारे चर्चा गर्दै उनले भने, ‘नेपालले पेरिस सम्झौताको अक्षरशः पालना गर्दै आएको छ। सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न हामी तयार छौं। नेपालको २५ प्रतिशत भूभाग जङ्गल रहने प्रतिबद्धता पूरा गर्छौं।’
अल्पविकसित देश भएर पनि नेपालले विकास र वातावरणको सन्तुलनमा सदैव ध्यान दिँदै आएको स्मरण गर्दै उनले थप भने, ‘हामीले बारम्बार भन्दै आएका छौं कि विकसित देशहरूले सन् २०२५ सम्ममा जलवायु कोषमा प्रतिबद्धताअनुसारको रकम उपलब्ध गराउनुपर्छ।’
दाहालले त्यसक्रममा प्रजातन्त्र, मानवअधिकार, न्याय र सशक्तीकरणमा नेपाल र अमेरिकाको मान्यता समान रहेको धारणा राखेका थिए। नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाले पुर्याएको योगदानको चर्चा गर्दै उनले अमेरिकी सहयोग नियोगले यसलाई निरन्तरता दिँदै आगामी पाँच वर्षभित्र ६५ करोड ९० लाख अमेरिकी डलर सहायता दिने कुरा महत्त्वपूर्ण भएको बताएका थिए।