काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ। केही ग्यास उद्योगले १४.२ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको खबर आएपछि निमगले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको हो।
निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ बमोजिमको कारबाही गरिने निगमले जनाएको छ।
विनियमावलीको विनियम २९ मा निर्धारित तौल (१४.२) अनुसार ग्यास बिक्री नगरेमा तथा निमगको निर्देशन पालना नगरेमा उद्योगसँगको कारोबार तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने व्यवस्था।
केही ग्यास उद्योगले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेका थिए। मौजुदा विनियमावलीअनुसार १४.२ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भर्न अनुमति दिन नसकिने भनी निगमले ती उद्योगलाई जानकारी गराएको थियो।