काठमाडौं। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रति कित्ता १३७.५८ रुपैयाँ प्रिमियम थपेर साधारण सेयर जारी गर्ने भएको छ।
कम्पनीले अंकित मूल्य १०० मा प्रिमियम थपेर २३७.५८ रुपैयाँका दरले सेयर जारी गर्न लागेको हो। कम्पनीले असोज १४ देखि १७ गतेसम्म सेयर जारी गर्नेछ।
कम्पनीको जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ। यसको ४० प्रतिशत साधारण सेयर जारी गरिने छ। यसबाट आयोजना प्रभावित, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी, सामूहिक लगानी कोषलाई सेयर दिइसकिएको छ।
बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो। कम्पनीको कारखाना दाङ र रोल्पामा छ। यसले क्लिङकर तथा सिमेन्ट उत्पादन गर्छ।