दमौली। तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा सभाहल निर्माण कार्य सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् सभागृह निर्माण भएको हो ।
उक्त सभागृह २३ करोड ६२ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे/एमए/प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो। सभागृह कोरोनाको कारणले निर्माणमा ढिला भएको हो।
७५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्डेनसहितको भिआइपी पार्किङ स्थलसमेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ । सभागृहको यही असोज ६ गते उद्घाटन हुँदैछ ।