काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकासका लक्ष्य बारे छलफलका गर्न सरकारले सर्वपक्षीय छलफल आयोजना गर्नुपर्ने बताए।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धी बहुपक्षीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय रुपमा ऐक्यबद्धताका लागि सरकारले सर्वपक्षीय बैठक र छलफल आयोजना गर्नुपर्ने सुझाव दिएका हुन् ।
उनले दिगो विकास लक्ष्य प्राप्त गर्न तीनै तहका सरकार र सरोकारवालाहरु सम्मिलित बैठकबाट कार्यान्वयनको अनुगमन गर्ने काम संघीय सरकारले गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘दिगो विकासको लक्ष्य भेटाउन मुस्किल छैन, मात्र इच्छाशक्ति चाहिन्छ। यसको नेतृत्व संघीय सरकारले गर्नुपर्छ र तीनवटै तहबाट भइरहेका कार्यहरुको नियमित अपडेट राख्दै अघि बढ्नुपर्छ ।’
जिल्लास्तरमा स्थानीय सरकारबाट भएका कामहरुको अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई दिन पनि उनले सुझाव दिए ।