काठमाडौं। चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षिय यातायात सहजीकरण कार्यदल गठन गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रवार सरोकारवाला सवै पक्षलाई बोलाएर यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा यातायात सहजीकरण कार्यदल गठन गरेका हुन् ।
उनले भने, ‘यातायात क्षेत्र चुस्त नहुँदा दशै, तिहार र छठ जस्ता पर्वहरुमा लाखौ यात्रुले सास्ती पाउँदै आएका छन् , यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौ। कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनको काम थाल्छौ।’
मन्त्री ज्वालाले सिंहदरवारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाई, बाग्मति प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात ब्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनकाका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो ।