काठमाडौं। रियल इस्टेट कम्पनी सीई कन्स्ट्रक्सनले पोखरामा झण्डै पाँच अर्ब रुपैयाँ लगानी गरेर दुईवटा हाउजिङ परियोजना ल्याउने भएको छ। सीईले पोखराको लेकसाइडमा ‘लेकभ्यू अपार्टमेन्ट’ र चौथेमा एचजी भेन्चरसँगको सहकार्यमा छुट्टाछुट्टै घरको ‘फेवा प्रिन्स रेसिडेन्सी’ गरी दुईवटा आवास परियोजना ल्याउन लागेको हो।
कम्पनीका अनुसार फेवा प्रिन्स रेसिडेन्सी भएको स्थानमा कमर्शियल सेन्टरसहित होटल र अपार्टमेन्ट पनि निर्माण गर्ने योजना रहेको छ।
चौथेमा ल्याउन लागिएको परियोजनाअन्तर्गत होटल तत्काल निर्माण गर्ने/नगर्ने टुंगो नभए पनि अन्य रियल इस्टेट प्रोपर्टीहरु ल्याउने गरी योजना अघि बढेको सीईले जनाएको छ।
पहिलो चरणमा लेकभ्यू अपार्टमेन्ट र फेवा प्रिन्स रेसिडेन्सी निर्माण गर्ने गरी सीईले शुक्रबार परियोजना लञ्च गरेको छ। यसमध्ये लेकभ्यु अपार्टमेन्टको अनुमानित लागत एक अर्ब ५० करोड रुपैयाँ र फेवा प्रिन्स रेसिडेन्सीको तीन अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।