गण्डकी। राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो ।
प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–६ का तीन सय ९१ घरधुरीमा सौर्य ऊर्जा जडानको क्रममा छ । तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडान गर्ने काम भइरहेको छ।
सौर्य ऊर्जा प्रविधि जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान दिने गरेको बताइएको छ। प्रदेश सरकारका मन्त्रालय र सम्बन्धित कार्यालयमा पनि विद्युत् सेवा नियमित गर्न संस्थागत सौर्य ऊर्जा जडान गरिएको छ।