वीरगञ्ज। पथलैया औद्योगिक करिडोरको जितपुर सिमरा–८ लोहसान्डा रमौलीमा खाद्यान्न उद्योगको निर्माण कार्य तीव्र गतिमा अघि बढीरहेको छ। आरएमसी समूहको करिब एक अर्ब लगानीको खाद्यान्न उद्योगको निर्माण कार्य धमाधम भइरहेको हो।
२०६७ मा समूहले किनेको करिब साढे १० बिघा क्षेत्रफलमा उक्त उद्योगको निर्माण कार्य शुरु भएको हो। ९ महिनामा परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ वीरगञ्जको बालाजी कन्स्ट्रक्सन प्रालिले दुई महिनादेखि उद्योग निर्माणको काम थालेको निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक सन्जय श्रीवास्तवले जानकारी दिए।
उनका अनुसार हाल प्रारम्भिक चरणको काममा हस्क यार्न, बोइलर, पर्खाल तथा ट्यांकी निर्माणको काम भइरहेको छ। एक महिनापछि मेशिनको जडानको काम पनि थाल्ने उनले बताए। प्रशोधित खानेतेल उत्पादनको मुख्य लक्ष्यसहित निर्माणाधीन उद्योगबाट पछि चामल, दाल, पिना लगायत पनि प्रशोधन र प्याकेजिङका काम हुनेछन्।
हाल सोयाविन, सनफ्लावर, पाम तेल प्रशोधन गर्ने प्लान्ट सेटअपको काम भएको प्राविधिकहरुले बताएका छन् । दैनिक ६० देखि सयजना कामदार उद्योग निर्माणमा खटिएका छन् ।