झापा। दमकमा निर्माण गर्ने भनिएको चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माणका लागि परियोजना विकास सम्झौता (पीडीए) गर्ने सहमति भएको छ। ३ वर्षअघि शिलान्यास भएको पार्क निर्माण थाल्न नेपाल–चीनबीच पीडीए गर्ने सहमति भएको हो।
मंगलबार जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘लगानी बोर्ड नेपाल र ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनीले पार्कलाई तीव्रता दिने र पीडीए सम्झौता छिट्टै गर्दै निर्माण सुरु गर्ने सहमति भएको छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जारी चीन भ्रमणका क्रममा उक्त सहमति भएको हो।
नेपालको सबैभन्दा ठूलो र दक्षिण एसियाकै नमुना भनिएको चीन–नेपाल मैत्री औद्यागिक पार्क तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। तर ५ वर्षमा सक्ने भनिएको आयोजना निर्माण अझै थालिएको छैन।
पार्क चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने भनिएको छ। १६ असोज २०७६ मा लगानी बोर्डले चिनियाँ कम्पनीसँग पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।
त्यसलगत्तै लगानी बोर्डले ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीलाई पार्कका लागि ६४ अर्ब रुपैयाँ भित्र्याउन स्वीकृति दिएको थियो।