मकवानपुर। हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ। उपकरण बिग्रिएर करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले बिहीबारदेखि पुनः उत्पादन सुरु गरेको हो।
बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरिएपछि उत्पादन सुरु गरिएको उद्योगले जनाएको छ।
हेटौँडास्थित नेपाल विद्युत प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधा घण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको थियो। उक्त उद्योगमा विद्युत् आपूर्तिका लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत आपूर्ति गर्न पत्राचार भइरहेको उद्योगले जनाएको छ।
नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएको छ ।