डडेल्धुरा। डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएको जानकारी दिएका हुन्।
सञ्चालनको अनुमति प्राप्त भइसकेकोले यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी तयारी गरिरहेको समेत उपकुलपति जोशीले जानकारी दिए।
अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा रहेको र त्यसलाई थप गरेर सुरुवातमा तीनसय शय्याको अस्पताल सञ्चालन गर्ने गरी तयारी गरिरहेको पनि उनले बताए । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ ।
त्यसैगरी डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निर्माणको प्रक्रिया अघि बढाएको हो । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि डिपीआर निर्माणको काम भइरहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको भनाइ छ ।