काठमाडौं। आगामी तीन/चार दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन बहिर्गमनको औसत मिति अक्टुर २ तारिख भए पनि यस वर्ष त्योभन्दा पनि ढिलो मनुसन बाहिरिने महाशाखाले जनाएको हो।
महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गर्दै यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर(पश्चिम दिशातर्फ सर्ने सम्भावना छ । त्यही प्रणालीका कारण आगामी तीन/चार दिनसम्म देशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हो ।
वर्षा कारण पहाडी भूभागमा पहिरो जानसक्ने जोखिम छ । यसैगरी ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, सडक र हवाई यातायात समेत प्रभावित हुनसक्ने सम्भावना छ । बाली भित्राउने समय पनि भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।