काठमाडौं। विश्व बैंक र एडीबी सहायतामा सञ्चालित विकास आयोजनाको कार्य प्रगतिबारे सरकारसँग संयुक्त त्रिपक्षीय समिक्षा बैंठक सम्पन्न भएको छ । बैठकले सहायतामा सञ्चालित परियोजनामा उठेका विषय र सुधारबारे छलफल गरेको छ ।
विकासे मन्त्रालयका सहभागीहरुले अन्तर्राष्ट्रिय वित्तीय निकायबाट सहायता प्राप्त आयोजनमा भएको पछिल्लो प्रगतिबारे जानकारी दिएका थिए । साथै, आयोजनाले खेपिरहेका अफ्ठ्यारा र चुनौतिबारे जानकारी दिए ।
बैठकको अध्यक्षता गरेका अर्थमन्त्री डा.महतले नेपालका विकासमा लामो समयदेखि एडिबी र विश्व बैंकले गरेको सहयोग प्रशंसा गरे । बैठक समग्र विषयलाई पहिल्याउन र कमजोरी सुधारको लागि महत्वपूर्ण भएको उनको भनाइ छ ।
उनले भने, ‘दीगो विकास र गरिबी न्यूकरणको लागि योगदान दिने विकास योजनाको प्रगति अपेक्षित रुपमा हुनुपर्ने, त्यसको लागि अन्तरनिकायबचि समन्वय र काममा चुस्तता आवश्यक रहेको छ।’ अर्थमन्त्रीले परियोजनाको लागि समयमै बजेट विनियोजन गर्नको लागि सधै प्रतिवद्ध रहेको उल्लेख गरे ।
नेपालका लागि एडीबीका अफिसर इचार्ज अर्नाड हेकम्यानले सहायतामा सञ्चालित आयोजनालाई अर्थ मन्त्रालयको नेतृत्वमा सफल बनाउन महत्वपूर्ण भुमिका खेलिरहेको बताए ।
एडीबीले सधै सरोकारवाला निकायबीच समन्वयात्मक रुपमा काम गर्ने र ढिलाइ हुने कारणलाई घटाउन तथा योजना सम्पन्न हुने बेलासम्म अवरोधबिना निरन्तरता पाउने विषयलाई प्रामिकता दिने गरेको उनको भनाइ छ ।