काठमाडौं। सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।
यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४०प्रतिशत (१ अर्ब २३ करोड २० हजार रुपैयाँ) को आधारमा १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरिएको थियो ।
उक्त सेयरमा स्थानीय बासिन्दाले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम सेयर बाँडफाँट भइसकेको छ ।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता पनि बाँडफाँट गरिसकेको छ । अब स्थानीयले नकिनेको सेयरसमेत थप गरेर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यस आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज २८ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।