काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । अनुमति पाएसँगै नेपालले पहिलोपटक भारतलाई ४४ मेगावाट बेच्ने भएको हो।
भारतको प्रतिश्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउनेछ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ।
भारतको विद्युत मन्त्रालयले १५ साउनमा विद्युत् आयातनिर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।