काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थिर सरकार भयो भने विकासले लय पक्रने बताएका छन्। बारा जिल्लामा आयोजित ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सन्जिवनी बाटिकाको भवनको उद्घाटन गर्दै मन्त्री महतले स्थिर सरकार भए विकासले लय पक्रने बताएका हुन्।
उनले भने, ‘स्थिर सरकार भयो भने यो देशमा गर्न सकिने धेरै कुराहरु छन् । तर दुईवटा भाष्यसँग हामी चनाखो हुनुपर्छ । ०४६ सालअघि यहाँ स्वर्णयुग थियो अहिले खत्तम भयो भन्ने भाष्य सामाजिक सञ्जालमा फैलाइएको छ भने अर्को नकारात्मक सन्देश फैलाइएको छ । यसलाई चिर्नुपर्छ ।’
अर्थतन्त्र लयमा फर्किनका लागि ठोस आधार रहेको उनले स्पष्ट पारे। मन्त्री डा. महतले भने, ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ । तर हात परिवर्तन हुन हिचकिचावट भइरहेको छ । जति धेरै हात परिवर्तन हुन्छ त्यत्ति हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौं ।’
विदेशी विप्रेषणको प्रवाह पनि राम्रो छ । अब जग्गा कारोबार विस्तारै बढ्छ । बैंकिङ समस्या विस्तारै हट्छन् । राष्ट्र बैंकले कतिपय काम गर्न बाँकी छ । राष्ट्र बैंकबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्ने मन्त्री डा. महतले विश्वास व्यक्त गरे।