काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले निजगढ अन्तराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेको बताएका छन्। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सन्जिवनी बाटिकाको भवन उद्घाटन गर्दै मन्त्री महतले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको बताएका हुन्।
डा. महतले भने, ‘अन्तर्राष्ट्रिय एयरपोर्ट हामीले बनाउनै पर्छ । पहिला बारामै बनाउनुपर्ने थियो । ४५ मिनेटको वरपर संसारभरि नै सहज हुन्छ । निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेका छौं । सुनकोशी मोरिन डाइभर्सनले बारालगायत अन्य जिल्लाको कृषि उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
मन्त्री महतले फास्ट ट्रयाकका लागि आवश्यक बजेट विनियोजन भइसकेकाले बजेट अभावले आयोजनाको काम नरोकिने दाबी समेत गरेका छन्।
उनले देशमा स्थिर सरकार भए विकास निर्माणले लय पक्रने दाबी समेत गरेका छन्। उनले भने, ‘स्थिर सरकार भयो भने यो देशमा गर्न सकिने धेरै कुराहरु छन् । तर दुईवटा भाष्यसँग हामी चनाखो हुनुपर्छ । ०४६ सालअघि यहाँ स्वर्णयुग थियो अहिले खत्तम भयो भन्ने भाष्य सामाजिक सञ्जालमा फैलाइएको छ भने अर्को नकारात्मक सन्देश फैलाइएको छ । यसलाई चिर्नुपर्छ ।’