काठमाडौं। पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको उक्त समितिले उद्योग मन्त्री रमेश रिजालसँग भेट गरी होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको हो ।
महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत लगायतका उद्योगी व्यवसायीहरुले मन्त्री रिजालसँगको भेटमा ज्ञापनपत्र बुझाउँदै भने, ‘व्यवसायीले होटल क्षेत्रमा ठूलो पुँजी लगानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलूकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुन्याएको छ। तसर्थ यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन आग्रह गर्छौै।’
अर्थतन्त्र र गन्तव्य विकासमा होटल क्षेत्रको विशेष योगदान रहेको भन्दै यस क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण नगरी राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिन उक्त समितिको माग छ । साथै होटल क्षेत्रले पर्यटकिय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा होलको विशेष योगदान हुने वस्नेतले जानकरी दिए । साथै सोका लागि होटल व्यवसायका लागि विद्युतको सहुलियत दर रेट करमा विशेष छुट सहित उद्योग सरहको सुविधा उपलब्ध गराउन उक्त समितिले आग्रह गरेको छ ।
समितिले होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन गर्नुपर्ने माग अघि सारेको छ ।