काठमाडौं। निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औं सम्मेलनका अध्यक्ष रवि सिंह र इफाप्काका महासचिव विरेन्द्रराज पाण्डे इण्डोनेशिया प्रस्थान गरेका छन्। इफाप्का सम्मेलनको प्रवर्द्धनका लागि आइतबार राति नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका सिंह र महासंघका सल्लाहकार समेत रहेका पाण्डे इण्डोनेशिया प्रस्थान गरेका हुन्।
आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुन लागेको इफाप्काको ४६ औं सम्मेलनको निमन्त्रणा र प्रवर्द्धनका लागि सिंह र पाण्डे इण्डोनेसिया गएको महासंघका नितिगत उपमहासचिव तथा इफाप्काका प्रचारप्रसार उपसमितिका संयोजक शिवहरि घिमिरेले जानकारी दिए। संयोजक घिमिरेका अनुसार अध्यक्ष सिंह र महासचिव पाण्डे इफाप्का सम्मेलनकै लागि इण्डोनेशिया पश्चात थाइल्याण्ड भ्रमणमा समेत जानेछन्।
इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ। हाल महासंघका अध्यक्ष रवि सिंह इफाप्का अध्यक्षको भूमिकामा छन् भने इफाप्का महासचिवमा वीरेन्द्रराज पाण्डे, इफाप्का बोर्ड मेम्बरमा सुशील कुमार श्रेष्ठ छन्। इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, मलेसिया, फिलपिन्स, सिंगापुर लगायतका १८ देश आबद्ध छन् ।
इफाप्का सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागि अन्तराष्ट्रिय निमन्त्रणा र प्रवर्द्धका कार्यमा महासंघ तीव्र गतिमा लागिरहेको छ। यसअघि महासंघका उपमहासचिव तथा प्रचारप्रसार उपसमितिका संयाेजक शिवहरि घिमिरे फिलपिन्सको राजधानी मनिला पुगेर अतिथिहरूलाई सम्मेलनको लागि निमन्त्रणा हस्तान्तरण गरेका थिए।