कुस्मा।जिल्लास्थित फलेवास नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण थालेको मनमोहन शान्ति वाटिकाको काम रोकिएको छ। सामुदायिक वनको जग्गामा परेपछि जिल्ला वन कार्यालयले शान्ति वाटिकाको निर्माण कार्यमा रोक लगाएको हो।
फलेवास नगरपालिका–१ को जमली चिसापानी र वडा नं. २ पर्ने थाम चिसापानी सामुदायिक वनको सिमानामा रहेको वन क्षेत्रमा शान्तिवाटिका निर्माण गर्न लागिएको थियो। थाम चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अनुसार केही सल्लोका पुराना रुख र बुट्यान हटाई डाँडा समथर बनाउन करिब दुई महिना लागेको थियो। वन क्षेत्रमा पर्ने अग्लो डाँडा समथर बनाउन फलेवास नगरपालिकाको डोजरसहित ठुला मेसिनको प्रयोग भएको थियो। डाँडा समथर बनाएपछि पक्की पर्खालसहितको अहिले करिब २० रोपनी जग्गा शान्ति वाटिका निर्माणका लागि तयार पारिएको छ।
फलेवास नगरपालिकाले वाटिका निर्माणका लागि पाँच वर्षदेखि अहिलेसम्म लाखौँ रकम खर्च गरिसकेको छ। शान्तिवाटिकाको योजना कार्यान्वयनका लागि १७ करोडको डिपिआर आर्थिक वर्ष २०७८र७९ बाट तयार गरिएको नगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए। उनका अनुसार पर्यटन मन्त्रालयबाट पाँच करोड समपूरक बजेट शान्तिवाटिकाका लागि विनियोजित भएको थियो। सामुदायिक वन क्षेत्रमा शान्ति वाटिका निर्माण गरेको भनी जिल्ला वन कार्यालयमा उजुरी परेपछि आयोजनाको काम हाल रोकिएको छ।
जिल्ला वन कार्यालयका प्रमुख नवराज बरालले भने, “वन ऐनविपरीत सामुदायिक वन क्षेत्रमा कुनै पनि प्रकृतिका स्थायी संरचना बनाउनु गैरकानुनी कार्य हुन आउँछ। शान्ति वाटिकाको नाममा निर्माणाधीन संरचना वन क्षेत्रमा पर्ने हुँदा कारबाही प्रक्रिया अगाडि बढाइएको हो।” स्रोत गोरखापत्र