काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशन दिएका छन्।
सिंहदरबारमा एमसीसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटसँगको भेटमा एमसीसीबारे छलफल गर्दै अर्थमन्त्री महतले एमसीए नेपाललाई निर्देशन समेत दिएका हुन्।
भेटमा अर्थमन्त्री डा.महतले एमसीसीअन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोपअनुरुप कार्यान्वयन हुनसकेमा मात्र विगतका सन्देहको अन्त्य हुने बताए। उनले नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुनसक्ने विचार व्यक्त गरे।
भेटमा प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको तथा यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको बताइन्।