रुपन्देही। बुटवल उपमहानगरपालिकामा मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे छलफल भएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि छलफल गरेका हुन्।
मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि उपमहानगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने प्रमुख पाण्डेयको भनाइ छ । उनले २०२२ सालदेखि बसोबास गरिरहेकाहरुको समस्याको समाधान गरेर औद्योगिक क्षेत्र निर्माण गर्नका लागि ड्रोनबाट जग्गा नापजाँच गरिएको भन्दै सोहीअनुसारको जग्गा यकिन गरी निर्माणको काम अगाडि बढाउनुपर्ने बताए।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाइँले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहहरुबाट भएको पहल सकारात्मक भएपनि संघीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताए।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले औद्योगिक क्षेत्र निर्माणका लागि सबैको चासो र समन्वयअनुसार अगाडि बढाउनका लागि स्थानीय प्रशासन तयार रहेको बताए ।
कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतीपुर औद्योगिक क्षेत्रको जानकारी सहितको प्रस्तुति गरेका थिए ।