कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गरे जरिवाना तिराउने भएको छ। नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई ५० हजार जरिवाना गर्ने भएको हो ।
नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई नगगरपालिकाले जरिवाना गर्ने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले भने, ‘नगरपालिका क्षेत्र भएर बग्ने वनहरा, बन्द, मछेली र मोहन नदीबाट नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन गर्ने कार्यका लागि तीनपटक सार्वजनिक सूचना जारी गरिएकामा तोकिएको म्यादभित्र बोलपत्र पेस भएका छैनन। त्यही भएर नदीजन्य पदार्थ उत्खनन र बिक्री वितरणमा रोक लगाइएको छ ।’
उनका अनुसार ठेक्का बन्दोबस्तको काम गर्न केही समय अझै लाग्ने भएकाले कार्यपालिकाको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाइएको छ ।