काठमाडौं। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीको भुक्तानी छिटो दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार आयोजित समितिको बैठकमा निर्माण व्यवसायीको काम गरेवापत पाउनुपर्ने बक्यौता रकमको भुक्तानी गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिइएको हो।
निर्माण व्यवसायीको भुक्तानी रोकिएको सम्बन्धमा ढिलाई हुनुको कारणसहित प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको छ।
त्यस्तै ठेक्का सम्झौता अनुसार तोकिएको समय र गुणस्तर अनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भएपनि भुक्तानी गर्ने टुंगोमा पुगेको जानकारी दिएका छन्।