काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भएपनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताएका छन्। सिंहदरबारमा बुधबार आयोजित प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले विशेष व्यवस्थापनबाट भएपछि निर्माण व्यवसायीको रकम भुक्तानी गर्ने बताएका हुन्।
अन्य मन्त्रालयको ३ र भौतिक मन्त्रालयको मात्र ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको समेत उनले जानकारी दिए।
समितिको बैठकमा निर्माण व्यवसायीको काम गरेवापत पाउनुपर्ने बक्यौता रकमको भुक्तानी गर्ने व्यवस्था छिटो मिलाउन समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।
निर्माण व्यवसायीको भुक्तानी रोकिएको सम्बन्धमा ढिलाई हुनुको कारणसहित प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको हो।
त्यस्तै ठेक्का सम्झौता अनुसार तोकिएको समय र गुणस्तर अनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ ।