काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङमा मङ्गलबार गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना गर्न निर्देशन दिएका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले तत्काल उद्धारसँगै पुनर्निर्माणका काम समेत अगाडी बढाउन निर्देशन दिएका हुन्।
उनले प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए।
सरकारका तर्फबाट राहत, उद्धार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिने उनले बताए।
प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी भएको समेत प्रधानमन्त्री प्रचण्डको भनाइ छ।