काठमाडौं। जुम्लाका सामुदायिक विद्यालयहरूमा नमूनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ। स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरेको हो।
विद्यालयमा बालिका महिनावारी हुँदा पेट दुखेमा वा असजिलो भएमा सो कक्षमा आराम गर्न मिल्ने बताइएको छ। बालिकालाई महिनावारी भएको समयमा सजिलो होस् भन्ने उद्देश्यले उक्त कक्ष निर्माण गरिएको विद्यालयले जनाएको छ। कनकासुन्दरी गाउँपालिकाको लुड्कुस्थित कनकासुन्दरी माध्यामिक विद्यालय, सिंजा गाउँपालिकाको मावि चुलेल गाउँस्थित महादेव मावि गुठी, हिमा गाउँपालिकाको मष्ठामाडूस्थित अन्नपूर्ण माध्यामिक विद्यालय, महावैपाथलखोलास्थित भानु माध्यामिक विद्यालयमा उक्त आराम कक्ष निर्माण गरिएका हुन् ।
यसैगरी कालिकोट जिल्लाको नरहरी नाथ गाउँपालिका–३ स्थित नन्दादेवी माध्यामिक विद्यालय र रुपादेवी आधारभुत विद्यालयसमेतमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ।
उक्त कक्ष निमार्ण भएपछि छात्राहरूलाई महिनावारी कक्षमा सेनीटरप्याड बदल्नेदेखी आराम गर्न सहज भएको सिंजा गाउँपालिकाले जनाएको छ।