काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीको बक्यौता दशैंअघि भुक्तानी हुने बताएका छन्।
चितवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री महतले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैंअघि नै गरिने बताएका हुन्।
उनले असार मसान्तसम्ममा ६० देखि ७० अर्ब तिरिसकेको र अब ६ देखि सात अर्बजति बाँकी रहेको समेत जानकारी दिए।
अर्थमन्त्री डा.महतले बाहिर आएजस्तो आर्थिक संकट चरम नभएको समेत दाबी गरेका छन्। केही हदसम्म समस्या भए पनि बाहिर देखिएजस्तो आर्थिक संकट नभएको उनको भनाइ छ।
पहिला राष्ट्र बैंकले सहज रूपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतले बताए। अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढेको र उत्पादन पनि नभएका कारण केही व्यवसायीलाई समस्या परेको उनले बताए।