काठमाडौं। सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुला हुने भएको छ। दशैंतिहार र छठ पर्वका लागि लामो तथा छोटो दुरीका सवारीको अग्रिम टिकट बुकिङ खुला हुने भएको हो।
यातायात व्यवस्था विभागमा शुक्रबार बसेको ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।
अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भए पनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरू निर्णय भने भइसकेको छैन। यातायात व्यवस्थालाई सहज र व्यवस्थित बनाउने सन्दर्भमा पुनः बैठक बसेर टुङ्गो लगाउने बताइएको छ।
महासङ्घले १७ बुँदे ध्यानाकर्षण पत्र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बुझाएपछि अग्रिम टिकट बुकिङ खुला गरेको हो। व्यवसायीको मागबारे छलफल र सहमति गर्दै जाने तर हाललाई अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको बताइएको छ।