काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। शुक्रबार तीन मन्त्रीसहित बझाङको भूकम्पले क्षति गरेको क्षेत्रमा अवलोकनका लागि पुगेका प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले बझाङमा आवास निर्माणका लागि रहक उपलब्ध गराउनेसहित १४ बुँदे घोषणा गरेका छन्। उनले भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई तत्काल २ लाख रुपैयाँ सहयोग प्रदान गर्ने पनि घोषणा गरे।
बझाङमा गत मंगलबार ६.३ म्ययाग्निच्युड र त्यसभन्दा कमका भूकम्प एक दर्जनभन्दा बढी पटक गएको थियो। भूकम्पमा परी एक जनाको ज्यान गएको थियो भने २० भन्दा बढी घाइते भएका थिए।
प्रधानमन्त्री प्रचण्डसँग उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री एनपी साउद अवलोकनका लागि बझाङ पुगेका थिए।