चितवन। नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले सरकार र राजनीतिक दलले आर्थिक विकासको योजना नल्याएसम्म समृद्धि सम्भव नहुने बताएका छन्।
चितवन उद्योग सङ्घले शनिबार बिहान भरतपुरमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन्।
उनले राजनीतिक परिवर्तन भए पनि आर्थिक सुधार नभएकाले दलहरू गम्भीर हुनुपर्ने बताए।
उनले सरकार र राजनीतिक दलले नयाँ उद्योग स्थापनाको वातावरण निर्माण गर्नुपर्ने समेत बताए। निजी क्षेत्रले औद्योगिक क्षेत्रमा गरेको काम सकारात्मक भए पनि सरकारले उद्योग स्थापनाका लागि ठुला लगानी भित्र्याउने वातावरण भने नबनाएको उनको भनाइ छ।
कृषि, प्राकृतिक, खनिजलगायतले नेपाल धनी भए पनि यसलाई उपयोग गर्ने सामर्थ्य सरकारको नहुँदा गरिबी कायम भएको समेत खनालले बताए।