काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशमा रहेका नेपाली नागरिकलाई विद्युतीय उपकरण नल्याउन आग्रह गरेको छ।
भन्सार कार्यालयले सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गरी इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिस्चर, पानी तान्ने मेसिन जस्ता विद्युतीय उपकरण नल्याउन आग्रह गरेको हो।
यस्ता उपकरण एक्स–रे जाँचपासका क्रममा संकास्पद देखिने गरेको हुँदा विदेशबाट आफैँ आउँदा नल्याउन कार्यालयले आग्रह गरेको छ। भन्सार कार्यालयले यी विद्युतीय उपकरणहरू कार्गोमार्फत पनि आफ्नो परिवारका सदस्यलाई नेपालमा नपठाउन भनेको छ ।
सूचनामा भनिएको छ, ‘विदेशबाट फर्कने नेपाली नागरिकले ल्याएका यस्ता विद्युतीय उपकरण जाँचपास गर्ने क्रममा संस्कास्पद देखिने गरेको छन् । प्याकिङ खोलेर चेकजाँच गर्नुपर्ने हुँदा सेवाग्राहीलाई मर्का पर्न जान्छ।’