रुकुम। अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन्।
शनिबार रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास आयोजनास्थलका स्थानीय जनताको सहयोगको आवश्यकता औंल्याएका हुन्। आयोजनास्थलका जनताको सहयोग, सहभागिता र योगदान विना सरकारले मात्र विकास गर्न सक्दैन, विकासको लागि स्थानीय सक्रिय हुनुपर्छ। सरकारले त्यसमा सहयोग गर्ने मात्र हो उनले बताए।
कुनै पनि विकास आयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गर्न लाग्दा स्थानीयले अचाक्ली भाउ बढाउने गरेको प्रति असन्तुष्टि प्रकट गर्दौ चौरजहारीमा विमानस्थलको स्तरोन्नति र भेरी नदीमा जलविद्युत निर्माण गर्ने योजना सुनाउनुहुँदै उनले जग्गाको भाउ नमिलाएसम्म ती काम गर्न सम्भव नहुने जानकारी दिए।
मन्त्री शर्माले शनिबार चौरजहारी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। यस्तै शनिबार नै आठविसकोटमा स्थापना गरिएको १५ सैय्याको नगर अस्पताल भवनको पनि उद्घाटन गरेका हुन्।
नेकपा माओवादी केन्द्रको बाँफिकोट र आठविसकोट दोस्रो नगर सम्मेलनको अवसरमा आयोजित जनसभाहरूलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले रुकुम जिल्लालाई समाजवादको आधार बनाउने प्रतिबद्धता दोहोर्याएका थिए।