काठमाडौं। सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले योजनाबद्ध रूपमा बजार अनुगमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। ‘चाडपर्वमा बजार अनुगमन र नागरिक दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा सचिव अर्यालले बजारमा माग र आपूर्तिको अवस्था बुझेर योजनाबद्ध रूपमा बजार अनुगमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।
उनले भने, “बजारमा कुन वस्तुको माग कति हो, त्यसको मूल्य र आपूर्ति सहज भए वा नभएको सबै बुझेर बजार अनुगमन गर्न सक्नु पर्छ । अनि मात्रै उपभोक्ताले बजार अनुगमनको महसुस गर्न सक्छन्, त्यस कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकासमेत समन्वय गरेर अनुगमन गर्नु पर्छ ।”
संयुक्त बजार अनुगमनले मूल्यको मात्रै अनुगमन नगरेर वस्तुको मूल्य, गुणस्तर, नापतौल सबैको अनुगमन एकै पटक हुने गरेको उनको भनाइ छ । स्वच्छ र प्रतिस्पर्धी बजार बनाउनका लागि सरकारी अनुगमन मात्रै पर्याप्त नहुने भन्दै मुख्य सचिव अर्यालले स्वच्छ बजार कायम गर्न उत्पादक, उद्योगी, व्यापारी जिम्मेवार र जवाफदेही हुनुपर्ने तथा स्वयम् उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिए।