म्याग्दी। बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरिएको छ। उक्त विद्यालय भवन समुदायको अगुवाईमा निर्माण गरिएको हो।
देश तथा विदेशमा छरिएका भकिम्लीबासीको सक्रियतामा २२ कोठे विद्यालय भवन पुनर्निर्माण गरेका हुन्। विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेराबारसमेत गरिएको छ।
विद्यालय भवन पुननिर्माणमा करिब तीन करोड ५० लाख खर्च भएको छ । गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहज रुपमा पठनपाठन गर्ने अवसर पाएका छन् ।
भवन बनाउने अभियानमा पाँच सय रुपैयाँदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । पुननिर्माण भएको विद्यालय भवनको एक समारोहका बिच उद्घाटन गर्दै विद्यालयलाई सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरिनेछ ।