काठमाडौं। विद्युत विधेयक दफाबार छलफलका लागि संसदीय समितिमा पठाइएको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकले विधेयक दफाबार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
प्रतिनिधि सभाले सैद्धान्तिक छलफल सकेर विधेयक पूर्वाधार विकास समितिमा पठाएको हो। सरकारले यो विधेयक भदौ २७ गते संसद्मा दर्ता गराएको थियो।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नाम समेत सुनाएका थिए। अनुपस्थितिको सूचना बैठकले स्वीकृत गर्नुपर्ने संसद् नियमावलीमा व्यवस्था छ।
सभामुख घिमिरेका अनुसार नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन १६ वटा र नेकपा एमालेका सांसद दयालबहादुर शाही ११ वटा बैठकमा लगातार अनुपस्थित भएका छन्। शेरचन २ महिनादेखि अर्थात साउन २८ देखि र शाही भदौ १६ देखि बैठमा अनुपस्थित भएका हुन्।
प्रतिनिधि सभाको बैठक अब कात्तिक १२ गते १ बजे बस्ने गरी स्थगित गरिएको छ।